17.1 C
Kathmandu

मनोरञ्जनमनिषा कोइराला : यसरी बलिउडमा स्थापित भइन्

मनिषा कोइराला : यसरी बलिउडमा स्थापित भइन्

मनिषा त्यस्ता नेपाली चेली हुन्, जसले बलिउड जस्तो फिल्मी उद्योगमा आफ्नो दर्बिलो उपस्थिति जनाए । सौदागर, मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, अकेले हम अकेले तुम, खामोसी जस्ता सुपरहिट फिल्म खेलेकी उनी ९० को दशकमा निकै चम्किएकी थिइन् । उनले पाँचवटा भाषाको लगभग ८० भन्दा बढी फिल्म खेलिन् ।

डाक्टर होइन मोडल बनिन्

मनिषको सुरुवाती पढाइ वाराणसीको वसन्त कन्या महाविद्यालयबाट भयो । त्यसपछि उनी माध्यमिक तहको पढाइका लागि उनी आर्मी स्कुल धौलकुआं‌ नयाँ दिल्ली पुगिन् ।

सुरूमा उनी डाक्टर बन्न चाहन्थिन् । तर, पछि उनको रुचि मोडलिङतर्फ मोडियो । उनले सन् १९८९ मा नेपाली फिल्म ‘फेरि भेटौँला’मा अभिनय गरिन् । उनी भरतनाट्यम् र मणिपुरी नृत्यमा पनि परंगत छिन्। तिनै मनिषा तमिल फिल्म हुँदै बलिउड प्रवेश गरिन् । हिन्दी फिल्म सौदागरबाट उनले बलिउडमा पाइला टेकेकी हुन् ।

करियर

मनिषाको बलिउड करियर सन् १९९१ मा सुभाष घई निर्देशित फिल्म सौदागरबाट भएको हो । उनी त्यसबेलाका लिजेन्ड कलाकार राजकुमार-दिलीपकुमारसँग एकसाथ ठूलो पर्दामा देखिएकी थिइन् । यही फिल्म उनको सबैभन्दा ठूलो ब्लकबस्टर हिट फिल्म साबित भयो । करियरको पूर्वार्ध सानदार रह्यो । उनी रातारात हिट भइन् ।

वास्तवमा अन्य बलिउड समकक्षी जस्तै फिल्मी पृष्ठभूमि थिएन उनको। गैरफिल्मी पृष्ठभूमिबाट आए पनि उनले आफ्नो अभिनय क्षमताका कारण हिन्दी सिनेमामा सर्वश्रेष्ठ अभिनेत्रीको रूपमा आफ्नो नाम दर्ता गरिन् । सन् १९९६ मा पार्थो घोष निर्देशित फिल्म अग्नि साक्षी र निर्देशक सञ्जय लीला भन्सालीको फिल्म खामोशीले मनिषालाई बलिउड उद्योगको टप लिडिङ हिराइन बनाइदियो ।

दुवै फिल्ममा उनलाई भिन्नभिन्नै रुपमा देख्न सकिन्थ्यो । अग्नी साक्षीमा मनिषाले एक रोगी पतिको ख्याल गर्ने पतिव्रता पत्नीको भूमिका निर्वाह गरिन् । त्यसैगरी खामोशीमा आवाजविहीन आमाबुबाकोख्याल राख्ने प्यारी छोरीको रुपमा देखिइन् । दुवै फिल्ममा उनले निर्वाह गरेको सशक्त भूमिकाले आलोचकलाई जिब्रो टोक्न बाध्य तुल्यायो ।

सन् १९९७ मा मनिषा बबी देओल र काजोलको अपोजिट फिल्म गुप्त द हिडन ट्रुथमा देखिएकी थिइन्। यो पनि ब्लकबस्टर सावित भयो । त्यही वर्ष मणि रत्नम निर्देशित फिल्म दिल सेमा उनले शाहरुख खानसँग स्क्रिन सेयर गरिन् । यस फिल्मबाट उनले आलोचकको राम्रो तारिफ बटुलिन् । साथै फिल्म फेयर बेस्ट एक्ट्रेसको अवार्ड समेत हात पारिन् ।

त्यसपछि उनी अजय देवगन स्टारर फिल्म कच्चे धागेमा देखिइन् । अर्को फिल्म मनमा उनले आमिर खानसँग स्क्रिन सेयर गरिन् । यो फिल्मले उनको करियरलाई थप उचाइमा पुर्‍यायो । त्यस वर्षको सर्वाधिक हिट फिल्ममा दरियो, मन ।

२००० मा उनी मल्टीस्टारर फिल्म लज्जामा देखिइन् । २००२ मा अजय देवगनसँग कम्पनी फिल्म खेलिन् । यस फिल्मको लागि उनले तेस्रो फिल्म फेयर क्रिटिक्स अवार्ड पाइन् ।

२००३ मा उनी कम बजेटको फिल्ममा देखिइन् । यहि वर्ष केन्द्रित फिल्म इस्केप फ्रम तालिबानमा अभिनय गर्न पुगिन्। त्यस फिल्मका लागि उनलाई बंगाल फिल्म जर्नलिस्ट एसोसिएसन अवार्डबाट सम्मानित गरियो ।

पछि मार्केट नामको फिल्म खेलिन् । त्यसबाट पनि उनले राम्रो प्रतिक्रिया पाइन्। फिल्मले बक्स अफिसमा राम्रो कारोबार गर्‍यो ।

निर्मात्री पनि

मनिषा अभिनेत्रीका साथै एक निर्माता पनि हुन् । उनले फिल्म मेकिङको डिप्लोमा न्युयोर्क युनिभर्सिटीबाट गरेकी हुन् । उनले आफ्नो व्यानरमा पैसा वसुल नामको फिल्म बनाइन् । यस्तो फिल्म बलिउडमा अहिलेसम्म बनेकै थिएन । यस फिल्ममा लिड रोलमा सुष्मिता सेन थिइन् । फिल्ममा न हिरो थियो, न लभ स्टोरी ।

२००७ मा उनी फिल्म अनवरमा एक सपोर्टिङ एक्ट्रेसको भूमिकामा देखिइन्। हिन्दी फिल्ममा उनले मुम्बई एक्सप्रेसबाट कमब्याक गरिन् । यस फिल्ममा उनी इमरान खानसँग देखिइन् । फिल्म राम्रो भएपनि खराब मार्केटिङको कारण बक्स अफिसमा कमाल देखाउन सकेन ।

नफापेको दाम्पत्य

बलिउडमा जुनबेला मनिषा चम्किएकी थिइन्, त्यहीँका कलाकर्मीदेखि फिल्ममेकरसँगसम्म उनको नाम जोडिन्थ्यो । कहिले नाना पाटेकर त कहिले सुभाष घईससँग जोडिएर मनिषाको चर्चा धेरै चल्यो। तर, उनी अविवाहित रहिन् । करिब करियरको उत्तरार्धतिर उनले जीवनसाथी पाएको खबर बाहिर आयो । मनिषाले आफ्नो लागि एक नेपाली व्यवसायी युवा रोजे, जसको नाम थियो सम्राट दाहाल । आफूभन्दा कान्छा उमेरका सम्राटसँग धुमधाम उनले धुमधामसँग विवाह गरिन् । निकै चर्चामा रहेको मनिषाको बिहेको निम्तो मान्दै केही बलिउडकर्मीसमेत काठमाडौं आए । तर, सम्राट-मनिषाको दाम्पत्य लामो समय टिक्न पाएन । अनेक खटपटबीच उनीहरू अघोषित रुपमा अलग भए ।

अहिले उनले भन्ने गरेकी छिन्, ‘त्यो विवाह गर्नु मेरो ठूलो भूल थियो । मैले हतारमा त्यस्तो गल्ती गरें ।’

को-कोसँग जोडियो मनिषाको नाम ?

९० को दशकमा मनिषाको चमकदमक बेग्लै थियो । त्यहीताका हो उनको अफेयरको एकपछि अर्को चर्चा चलेको पनि । सुरुमा उनी विवेक मुश्रानसँग नजिकिएकी थिइन् । विवेकले मनिषासँगै सौदागरमा अभिनय गरेका थिए । तर, उनीहरूको सम्बन्ध लामो समय रहेन । त्यसपछि उनी अस्ट्रेलियन राजदूत क्रिप्सिन कोनोरीसँग अफेयरमा रहिन् । उनीहरूबीच इन्गेजमेन्ट समेत भएको थियो, २००२ मा । तर, पछि मनिषाले उनलाई बाइबाई गरिन् ।

त्यसपछि मनिषा अभिनेता नाना पाटेकरसँग जोडिइन् । अग्नी साक्षीमा मनिषाले उनैसँग स्क्रिन सेयर गरेकी थिइन् । तर, विवाहित नाना पाटेकरसँगको सम्बन्धले पनि राम्ररी बिट मार्न पाएन । उनीहरू छुटिए । अब मनिषाको नाम हुशेनसँग जोडियो । उनीहरूको रहस्यमय सम्बन्ध पनि अन्ततः पूर्णविराम लाग्यो ।

सन् २००३ मा लन्डन गएकी मनिषा त्यहीँ नै नाइजेरियन व्यापारी सेसिलसँग नजिकिए । उनलाई भेट्नकै लागि मनिषा लन्डन पुग्थिन् । त्यसपछि मनिषा अर्यान भाइदसँग जोडिन आइपुगिन् । त्यस्तै, प्रशान्तसँग पनि उनको नाम जोडियो । त्यसो त सन् २००७ मा उनको संगीत निर्देशन सन्दीप चोट्वासँग अफेयर रहेको पनि चर्चा थियो । त्यसपछि उनी लेखक तथा खेल परामर्शदाता क्रिस्टोफरसँग रोमान्स गर्न आइपुगिन् । तर, यी कुनैपनि सम्बन्धको ह्याप्पी इन्डिङ हुन पाएन ।

क्यान्सरसँग पौंठेजोरी

दाम्पत्य जीवन टुट्यो । मनिषा अलग भइन् । बलिउडमा पनि उनको उपस्थिति शून्य जस्तै थियो । ठिक यहिबेला हो, उनलाई क्यान्सरले गाँजेको । सन् २०१२ मा उनलाई पाटेघरको क्यान्सर भएको थाहा भयो । उपचारका लागि उनी मुम्बईको जसलोक अस्पतालमा भर्ना भइन् । त्यहाँबाट पार नलागेपछि उनी अमेरिका पुगिन् । त्यहाँको सफल उपचारपछि उनले पुर्नजीवन पाएकी हुन् ।

कहिले ‘हेल्थ टिप्स’ दिँदै, कहिले गेरु वस्त्रमा

अनेक उतार–चढावबीच आफ्नो करियरलाई सन्तुलित ढंगले अवतरण गर्ने प्रयासमा रहेकी मनिषा कहिले हेल्थ टिप्स बाँढिरहेकी हुन्छिन् त कहिले गेरुवस्त्र धारण गरेर धार्मिक अनुष्ठानमा सहभागी हुन्छिन् । खासगरी क्यान्सरको उपचारपछि तङ्ग्रिएकी उनी अरूलाई पनि स्वास्थ्यप्रति सचेत रहन सर्तक गराउँछिन् ।

उनले अहिले आफ्नो स्वास्थ्यलाई नै प्राथमिकतामा राखेको बताउँछिन् । त्यस्तै, आध्यात्मिक झुकाव पनि बढेको छ । उनी पाइलट बाबाको आश्रममा पुग्ने गरेकी छिन्, पटक-पटक । उनलाई पाठेघरको क्यान्सर भएको थियो, सन् २०१२ मा ।

नजिकबाट मनिषा

जन्म– १९७० अगस्ट १६

जन्मस्थल–काठमाडौं

करियर सुरुवात– फेरि भेटौंला (१९८९)

मातापिता– प्रकाश कोइराला र सुष्मा कोइराला

हजुरबुबा– विश्वेश्वरप्रसाद कोइराला

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्