१६ भाद्र २०७७
काठमाडौं–नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पूर्वन्यायाधीशसहित थप १० जनाको मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा पूर्वन्यायाधीश चालिसेको निधन भएको हो । ७० वर्षीय पूर्वन्यायाधीश चालिसे ५ दिनदेखि गंगालाल हृदयरोग केन्द्रमा उपचाररत थिए भने उपचारकै क्रममा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै, कोरोना संक्रमणबाट केन्द्रीय कारागार सुन्धाराका १ कैदीको मृत्यु भएको छ भने चितवनमा कोरोनाकै कारण १८ वर्षीया युवती सहित ४ जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकाकी १८ वर्षीया युवती, ६५ र ७८ बर्षीय २ पुरुष र खैरहनी नगरपालिकाकी ५५ वर्षीया महिला रहेका छन् ।
कोरोनाबाट वीरगञ्जमा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ५३ वर्षीय पुरुष र बाराको कोल्भी गाउँपालिकाका ६० वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।