काठमाडौं । तामाङ कलाकारहरुको साझा छाता संगठनको रुपमा स्थापित संस्था नेपाल तामाङ कलाकार संघको १७ औं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम असोज ९ गतेको लागि तय गरिएको छ ।
संघको १७ औं वार्षिक साधारण सभा काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहान ११ बजे हुने भएको छ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री माननिय बहादुर सिं लामा (तामाङ) को प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा नेपाल तामाङ कलाकार संघले आयोजना गरेका विभिन्न कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने सहयोगी दाताहरू र तामाङ कलाको क्षेत्रसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायका विशिष्ट व्यक्तिहरुलाई विशेष सम्मान गर्ने संघका अध्यक्ष विशाल काल्तनले जानकारी दिएको छ ।
संघ संस्थाको वार्षिक साधारण सभा भन्ने बित्तिकै आर्थिक प्रतिवेदन लगायत अन्य वार्षिक प्रतिवेदन र भावी योजनाहरु तर्जुमा गरी प्रस्तुत गर्ने कार्यक्रम रहेको हुंदा नेपाल तामाङ कलाकार संघले यस पटकको साधारण सभाबाट तामाङ कलाकारहरुको एकता संगै समुदायस्तरमा के कस्ता खालका कार्यक्रम लिएर जाने योजना तर्जुमा गर्लान भन्ने चासोको बिषय बनेको छ ।